राप्ती सोनारीमा ६४ मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण अन्तिम चरणमा
बाँके। राप्ती सोनारी गाउँपालिका–४ मा निर्माणाधीन ६४ मेट्रिक टन क्षमताको आधुनिक शीत भण्डार (कोल्ड स्टोर) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय कृषकहरूको उत्पादन सुरक्षित भण्डारण गर्दै कृषि क्षेत्रको व्यावसायिकीकरणमा टेवा पुर्याउने उद्देश्यले निर्माण भइरहेको उक्त शीत भण्डारको गाउँपालिका नेतृत्वले स्थलगत अनुगमन गरेको छ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह चौधरी, वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्षसहितको टोलीले निर्माणस्थल पुगेर परियोजनाको प्रगति, गुणस्तर र बाँकी निर्माण कार्यबारे जानकारी लिएको हो।
अनुगमनका क्रममा टोलीले निर्माण कार्य तोकिएको समयसीमाभित्र सम्पन्न गर्न तथा गुणस्तरमा कुनै सम्झौता नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ। साथै, हालसम्म सम्पन्न कार्यको समीक्षा गर्दै बाँकी कामलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरिएको छ।
गाउँपालिकाका अनुसार शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय कृषकहरूले आलुलगायत कृषि उपज लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्नेछन्। यसले उत्पादनमा हुने क्षति न्यूनीकरण गर्नुका साथै बजार मूल्य अनुकूल भएको समयमा बिक्री गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
विशेषगरी आलु उत्पादक किसानका लागि यो पूर्वाधार निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। शीत भण्डारको अभावमा उत्पादन तत्काल बिक्री गर्नुपर्ने बाध्यता हट्ने र कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने वातावरण बन्ने गाउँपालिकाको भनाइ छ।
गाउँपालिका नेतृत्वले कृषि क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा लिँदै किसानमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। शीत भण्डार निर्माण सम्पन्न भएपछि राप्ती सोनारीका कृषकहरूको उत्पादन व्यवस्थापन, बजार पहुँच विस्तार तथा आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्