इच्छाशक्ति र अनवरत श्रमको प्रतिफल: उद्यमी दुर्गा दनुवारको जीवन कथा…
सुनसरी। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २, जोगीदह हाटखोला चोककी ५३ वर्षीया दुर्गा दनुवारको नाम सुन्नेबित्तिकै धेरैको जिब्रोमा त्यहाँको चर्चित दालमोट र भुजियाको स्वाद आउँछ।

दुर्गाले हाकेको “निनी दालमोट भुजिया उद्योग” आज उदयपुरमा मात्र होइन, आसपासका धेरै जिल्लामा एउटा स्थापित ब्रान्ड बनिसकेको छ। तर, यो स्वादिलो भुजियाभित्र एक महिलाको २५ वर्ष लामो कठोर सङ्घर्ष, भोक, आँसु र पसिनाको कथा लुकेको छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
दुर्गा आज जीवनको जुन सफलतामा पुगेकी छिन्, त्यहाँसम्मको यात्रा असाध्यै चुनौतीपूर्ण थियो। २०३० सालमा साविक जोगीदह गाविस–७ मा जन्मिएकी दुर्गाको बाल्यकाल चरम अभावमा बित्यो। परिवारसँग न जमिन थियो, न स्थायी आम्दानी। घरमा अन्नको दाना नहुँदा जङ्गलको च्याउ उमालेर रात कटाएका ती भोकै दिनहरू उनी अहिले पनि भुल्न सक्दिनन्।
त्यसमाथि, तीन वर्षकै उमेरमा खुट्टामा आएको पिलो बिग्रिएर एउटा खुट्टा छोटो भयो। ग्रामीण समाज, त्यसमाथि गरिबी र अपाङ्गता (शारीरिक अपाङ्गता) को दोहोरो मार बोकेर हुर्किनु आफैँमा महासङ्घर्ष थियो। तर, दुर्गाले कहिल्यै परिस्थितिसँग हार मान्नुभएन।

दुई कक्षाभन्दा अगाडि पढ्न नपाएकी दुर्गासँग कुनै विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र त छैन, तर जीवनको भोगाइले उनलाई श्रम, धैर्यता र आत्मनिर्भरताको ठूलो ज्ञान दियो। बाल्यकालदेखि नै परिवार धान्न उहाँले अनेकौँ दुःख गरिन्। कहिले जाँड–रक्सी बेचिन, त कहिले डोको–ढाकी बुनेर र चटपटे बेचेर घर खर्च टारेकी थिइन्।
२०४६ सालमा विवाह भएपछि पनि उहाँको जीवन सहज भएन। दाम्पत्य जीवन सुरु गरेको घरको आर्थिक अवस्था पनि दयनीय नै थियो। तर, उनले हिम्मत हारिनन्। त्यही वर्ष उनले ढाकी बुन्ने तालिम लिइन् र २०५२ सालसम्म ढाकीकै भरमा परिवार पालिन्। त्यसपछि उनले सडक किनारमा कटघरा थापेर एक–दुई रुपैयाँमा चटपटे बेच्न सुरु गरिन्। त्यतिबेला उनलाई अनुमानसम्म थिएन कि, कुनै दिन उनी आफ्नै नामको ठूलो उद्योगको मालिक बन्नेछिन्।

दुर्गाको जीवनमा सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ भुजिया बनाउने तालिम बन्यो। २०६३ सालतिर उनले घरमै सानो स्तरमा दालमोट र भुजिया बनाउन थालिन्। बिस्तारै उनको भुजियाको स्वाद स्थानीय बजारमा लोकप्रिय हुँदै गयो।
दनुवार समुदायमा ‘निनी’ को अर्थ फुपू हुन्छ। सुरुका दिनमा घरमै बनाएको भुजिया स्थानीय विद्यालयका बालबालिकाहरूले निकै मन पराउँथे। दुर्गाका भदा–भदैनी उमेरका ती केटाकेटीले मायाले यसलाई “निनीको भुजिया” भन्न थाले। पछि त्यही नाम उद्योगको आधिकारिक पहिचान बन्यो।
आज जोगीदहको एउटा सानो भान्साबाट सुरु भएको “निनी दालमोट भुजिया उद्योग” मा १० जना स्थानीय महिलाहरूले प्रत्यक्ष रोजगारी पाएका छन्। दुर्गा आफैँ पनि श्रमिकहरूसँगै बसेर दिनरात काम गर्छिन्। अझ रोचक कुरा त, अहिले उहाँका श्रीमान् र बुहारीले समेत सोही उद्योगमा पारिश्रमिक लिएर काम गर्छन्।
यही भुजिया र दालमोट बेचेकै कमाइबाट दुर्गाले आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाइन्। उनका जेठा छोरा अहिले स्थापित डाक्टर छन् भने कान्छो छोरा र छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन्। कुनै समय दुई रुपैयाँको चटपटे बेच्ने महिलाले आफ्नै पसिनाको जगमा छोराछोरीको भविष्य डाक्टरसम्मको बनाए भन्दा धेरैलाई यो दन्त्यकथा जस्तो लाग्न सक्छ।

तर, दुर्गाको यो कथा केवल आर्थिक सफलताको मात्र होइन, महिलाको श्रम र क्षमतालाई सधैँ कमजोर ठान्ने पितृसतात्मक समाजविरुद्धको एउटा बलियो झापड पनि हो। जब उनले व्यवसाय सुरु गर्ने आँट गरिन्, तब समाजले गिज्याउँदै भनेको थियो— “छोरी मान्छे भएर पनि कहाँ त्यत्रो ठूलो सपना देखेको?”
हिजो सपनामाथि शङ्का गर्ने त्यही समाज आज दुर्गाको मेहेनत र आँटको उदाहरण दिने गर्छ। महिलाहरू पनि आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने मान्यता राख्ने दुर्गाले आफ्नो उद्योगमा महिलालाई नै प्राथमिकता दिएकी छिन्। शारीरिक अपाङ्गता र सामाजिक अवरोधलाई छिचोल्दै उद्यमशीलताको शिखर चढेकी दुर्गा दनुवार आज धेरैका लागि प्रेरणाको एउटा जीवन्त पर्याय बनेकी छिन्।








प्रतिक्रिया राख्नुहोस्