तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक जेठ २५ गते सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ २५ गते सम्मका लागि स्थगित भएको छ । 

प्रतिनिधि सभाको आजको बैठक सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो । 

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को यस अघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानाकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । 

सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालैपालो बोल्न समय दिनुभयो । 

त्यसक्रममा नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकोले सच्याउनुपर्ने बताउनुभयो । 

सांसद शाहले प्रधानमन्त्रीले अन्जानवश त्यस्तो अभिव्यक्ति दिएको भए चिन्ताजनक र जानिबुझी दिएको भए राष्ट्रिय सुरक्षाका लागि नै खतरापूर्ण रहेकोले संसद्मै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्नुभयो । 

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सीमाना र सार्वभौमसत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्नुहुँदै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओली प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकोले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने हुनाले देशको हितका लागि गल्ती सच्चाएर अगाडि बढ्नु राम्रो हुने बताउनुभयो ।

त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आंदाम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गरी बैठक स्थगित गर्नुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button