तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

काठमाडौँ।नेपाली ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, निर्धारित मितिमा नहुने भएको छ । यही जेठ १५ गतेदेखि गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सूचना जारी गरी भनेको छ, “पूर्वसूचनाअनुसार २०८३ जेठ १५ गतेदेखि सञ्चालन हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ विशेष कारणवश हाललाई स्थगित गरिएको छ ।”

प्रतिष्ठानले प्रदर्शनी हुने मिति तय भएपछि सूचना प्रकाशित गरिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गर्दै तोकिएको समयमा प्रदर्शनी सञ्चालन हुन नसकेकोमा क्षमा पनि मागेको छ । प्रदर्शनीको सम्मुखमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित सबै प्राज्ञपरिषद सदस्यको पद खाली भएको र नयाँ नियुक्ति नभएकाले प्रदर्शनी रोकिएको प्रतिष्ठानका प्रशासन प्रशासन प्रमुख कमलमणि काफ्लेले जानकारी दिनुभयो ।

सरकारले पदपूर्तिका लागि हालैमात्रै रोष्टर सूचीमा समावेश आवेदकको सूची सार्वजनिक गरेको छ । जसमा प्रतिष्ठानका लागि १६६ जनाको नाम समावेश भएको छ । ललितकलाको इतिहास बोकेको राष्ट्रिय कला प्रदर्शनीमा सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरु समावेश हुन्थे ।

त्यही बीचबाट दर्जनौँ कलाकृतिहरु पुरस्कृति हुने गरेको थियो भने कलामार्फत महत्त्वपूर्ण योगदान दिएका दुई जना अग्रज कलाकारलाई अरनिको सम्मान दिने गरिएको थियो । यस प्रदर्शनीमा लुकेर रहेका मौलिक, लोक तथा रैथाने कलाहरू पनि समावेश हुने गरेकाले कला संस्कृति र पहिचान प्रवर्द्र्धन हुँदै आएको थियो ।

यसअघि केही तयारीका काम भइसकेको थियो । जसअनुसार प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न भइसकेको छ । राष्ट्रिय प्रदर्शनीको तयारी सुरु हुनेबित्तिकै सबै पदाधिकारी पदमुक्त भएपछि काम अघि बढ्न नसकेको हो । नेपालमा २०२२ सालमा स्थापना भएको नेपाल ललितकला संस्थाले नै ललितकला प्रदर्शनीसहित सम्मान पुरस्कारको सुरुआत गरेको थियो । २०६६ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनापछि उक्त प्रदर्शनी नियमित रूपमा हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button