तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर दरबार स्क्वायर परिसरमा हुलाक टिकट प्रदर्शनी 

भक्तपुर । गणतन्त्र दिवस २०८३ को अवसरमा हुलाक सेवा विभागको आयोजनामा भक्तपुर दरबार स्क्वायर परिसरमा टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘टिकट प्रदर्शनी कार्यक्रम’ को उद्घाटन गर्नुभयो । 

कार्यक्रममा नगर प्रमुख प्रजापतिले हुलाक टिकटले देशको इतिहास, संस्कृति, कला र पहिचान झल्काउने बताउनुभयो ।

उहाँले यस्ता प्रदर्शनीले हुलाक सेवाको ऐतिहासिक यात्रा र विकासलाई  जनमानसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

हुलाक टिकटको महत्व नयाँ पुस्ता र आम जनस्तरसम्म पुर्‍याउन प्रदर्शनी आवश्यक भएको बताउँदै हुलाक टिकट पनि राष्ट्रको महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले हुलाक टिकटले इतिहासदेखि बर्तमानसम्मको अवस्था दर्साउने उल्लेख गर्नुभयो ।

गणतन्त्र दिवसको अवसरमा विभाग र नेपाल फिलाटेलिक समाजको संयुक्त आयोजनामा प्रदर्शनी आयोजना गरिएको विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो ।

नगर प्रमुख प्रजापति लगायतका अतिथि एवं सहभागी तथा पर्यटक समेत सयौँले टिकट प्रदर्शनीको अवलोकन गर्नुभयो । 

प्रदर्शनीमा पुराना तथा दुर्लभ हुलाक टिकटहरू प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button