एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित
काठमाडौँ । एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध सङ्घर्षपूर्ण निकालेको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीन माथि १९ रनको जित हात पारेको हो । नेपालले दिएको १२६ रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

उपकप्तान पूजा महतोको अर्ध शतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा विजयी सुरुआत गरेको छ ।
योसँगै २ अंक जोडेको नेपालले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ ।
चीनकी कप्तान मिङ्यु झुले सर्वाधिक ३० रन बनाइन् । वाङ हुइङ २१, वेई हाइटिंग १८ र जियापिङ लि १५ रनमा आउट भए ।
नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १ विकेट लिए ।
नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का ३ बलमा ४ रन बनाउँदै पहिलो ओभरमा आउट भइन् । दोस्रो विकेटका लागि पूजाले सोनी पाख्रिनसँग मिलेर ३७ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । सोनी २४ बलमा १८ रन जोड्दै आउट भइन् ।
कविता कुँवर ५ रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुवि पोदारका बीचमा ६४ रनको साझेदारी भयो । रुवि २२ तथा रुबिना क्षेत्री ४ रनमा अविजित रहिन् ।








प्रतिक्रिया राख्नुहोस्