प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा नेपाली सेनालाई विशेष सम्मान
काठमाडौँ । विगत ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष (WWF) नेपालले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई आज मिति २०८३ ज्येष्ठ ५ गते एक कार्यक्रमबिच विशेष सम्मान गरिएको छ।

सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई “शून्य शिकार वर्ष” (ZERO POACHING YEAR) को रूपमा मनाउन सफल भई Abraham Conservation Award बाट नेपाली सेनाका विभिन्न ६ वटा युनिटहरू सम्मानित भएका थिए र बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भएकोमा यस वर्ष प्रकृति तथा पर्यावरण संरक्षणमा पुर्याएको अतुलनीय योगदानको कदर स्वरूप विश्व वन्यजन्तु कोष नेपालबाट विशेष सम्मान गरिएको छ।
नेपाली सेना वि.सं. २०३२ सालबाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएकोमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, १ वटा वन्यजन्तु आरक्ष र १ सिकार आरक्षका संरक्षणमा ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र १ प्रकृति संरक्षण शिक्षालयबाट गरी करिब ८ हजार भन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको छ। जसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सीँगे गैँडा हाल ७५२ मा वृद्धि भएको तथ्याङ्क रहेको छ।

जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकुलता एवं विषम परिस्थितिका बाबजुद पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलता पूर्वक सम्पादन गर्दै आइरहेको छ भने यस क्रममा हालसम्म नेपाली सेनाका ११६ जना सकल दर्जाले वीरगति प्राप्त गरिसकेका छन्।







प्रतिक्रिया राख्नुहोस्