तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका स्थानीय तहले अतिक्रमित जग्गा र संरचना खोज्दै

बागलुङ । बागलुङका स्थानीय तह सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना र मिचिएका जग्गाको खोजी तथा संरक्षण कार्यमा सक्रिय भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङको परिपत्रपछि जिल्लाका १० वटै स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणमा सक्रियता बढाएका हुन् ।

बागलुङ नगरपालिकासहित विभिन्न पालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा, संरचना तथा मिचिएका क्षेत्रको खोजी कार्य अगाडि बढाएको प्रशासनले जनाएको छ ।

बागलुङ नगरपालिकाका बस्ती विकास शाखा प्रमुख इन्जिनियर गौरव शर्माले बजार क्षेत्रमा रहेका केही सुकुम्बासी बस्ती हटाउने तयारी भइरहेको बताउनुभयो ।
उनीहरूलाई वैकल्पिक स्थानमा स्थानान्तरण गर्ने विषयमा समेत नगरपालिकाले योजना बनाइरहेको उहाँले बताउनुभयो । नगरपालिकाले अव्यवस्थित बसोबासीको लगत संकलन कार्यसमेत जारी राखेको जनाएको छ ।

भूमि आयोगको तथ्याङ्क अनुसार बागलुङ नगरपालिकाभित्र २८ भूमिहीन दलित, ५६ भूमिहीन सुकुम्बासी र ७३ अव्यवस्थित बसोबासी रहेका छन् । तर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भने यसभन्दा धेरै रहेको पाइएको नगरपालिकाको भनाइ छ ।
तमानखोला गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण रोक्न कडाइ गर्ने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले अतिक्रमण भएका जग्गाबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

बडिगाड गाउँपालिकाले समेत सार्वजनिक जग्गा संरक्षणका लागि अतिक्रमित क्षेत्रको विवरण संकलन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, अभिलेख अद्यावधिक तथा अतिक्रमण नियन्त्रणमा स्थानीय तहले सक्रियता देखाउन थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button