तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदै 

जुम्ला । कर्णालीलाई विश्वमा चिनाउने र साहसिक खेल पर्यटनको गन्तव्य बनाउने उद्देश्यले विगत ६ वर्षदेखी सञ्चालन हुँदै आएको जुम्ला–रारा अल्ट्रा म्याराथन यस वर्ष पनि हुने भएको छ । 

६ वर्षदेखी निरन्तर आयोजना हुँदै आएको जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाख २६ गते हुने छ । 

नेपाली खस भाषा साहित्य र संस्कृतिको उद्गम स्थल जुम्ला हुँदै नेपालकै ठुलो रारा ताल विश्वमा चिनाउने र खेल पर्यटनका माध्यमबाट कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित कर्णाली स्पोर्ट क्लबले ६ वर्षदेखी प्रतियोगिता गर्दै आएको छ ।

कुलतमा फसेकालाई खेलमा जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने र वर्षको एक पटक भए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको ध्यान कर्णालीमा तान्ने गरी प्रतियोगिता आयोजना हुँदै आएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । उहाँका अनुसार वैशाख २६ गते हुने सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको सम्पुर्ण तयारी पूरा भइसकेको छ । 

क्लबद्वारा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले म्याराथनको तयारी खेलाडी सहभागिता लगायतका विषयमा जानकारी दिएको छ । बुधबार नै प्रमुख जिल्ला अधिकारी दीपक पौडेल लगायतबाट सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफ्री समेत सार्वजनिक गरिएको छ ।

यस वर्षको प्रतियोगितामा झण्डै एक हजार खेलाडी सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले जानकारी दिए । अल्ट्रा म्याराथन अन्तर्गत तीन विधामा प्रतिस्पर्धा हुने छ ।

जसमा ५ किमी, १० किमी र ५४ किमी दुरीको दौड प्रतियोगिता हुने छ । विगतमा जुम्ला–रारा अल्ट्रा म्याराथनको ५१ किमी दुरी रहेकोमा हाल ५४ किमी कायम गरिएको छ । 

आयोजकका अनुसार ५ किमी दुरीमा ६ सय ५० भन्दाबढी, १० किमी तर्फ २ सय बढी र ५४ किमी दुरी तर्फ १३५ जना खेलाडीले नाम दर्ता गराएका छन् । यस पटकको प्रतियोगितामा भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटली लगायतका देशबाट खेलाडीहरूले नाम दर्ता गराएका छन् ।यद्यपि हाल सम्म भारत र फ्रान्सका खेलाडी जुम्ला पुगेका छन् । 

प्रतियोगितामा महिला पुरुष तर्फका प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाचौं स्थानमा आउने खेलाडीलाई पुरस्कार बापत क्रमशः जनही  नगद एक लाख, ७५ हजार, ५० हजार, २०/२० हजार लगायत ट्रफी प्रमाण–पत्र प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी अधिकारी दीपक पौडेलले सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनले कर्णालीको साहसिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै कर्णालीलाई विश्वमा चिनाउन टेवा पुराएको बताउनुभयो  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button