तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्वाधार अभावले पछाडि परेको बाजुराको पर्यटकीय विकास’

बाजुरा। नौ वटा स्थानीय तह रहेको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले समृद्ध छ। यति धेरै सम्भावना हुँदाहुँदै पनि स्थानीय तहहरूको उदासीनताका कारण यहाँका पर्यटकीय गन्तव्यहरू अझै ओझेलमै परेका छन्।

जिल्लामा बडीमालिका मन्दिर, बुढीनन्दा ताल, रानिशैन–खप्तड क्षेत्र, कालाजग्रा मन्दिर, त्रिवेणी धाम, छेडेदह बिरेखोला झरना, किम्नी झरना ताललगायत दर्जनौँ धार्मिक तथा प्राकृतिक गन्तव्य रहेका छन्। यी स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने पर्याप्त सम्भावना बोकेका छन्। तर सडक पहुँच, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र, पदमार्ग तथा सुरक्षित आवागमन जस्ता आधारभूत पूर्वाधारको अभावले पर्यटकको रोजाइमा पर्न सकेका छैनन्। नौवटै स्थानीय तहले हरेक वर्ष नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। बजेट विनियोजन र खर्चमा प्राथमिकता नदिँदा अधिकांश योजना कागजमै सीमित हुने गरेका छन्। 

पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूका अनुसार बाजुरामा होटल, होमस्टे, यातायात, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने ठूलो सम्भावना छ। तर स्पष्ट योजना र प्रभावकारी कार्यक्रमको अभावले यो अवसर खेर गइरहेको छ। पर्यटन व्यवसायी तुला बडुवालका अनुसार बाजुराको पर्यटन विकास गर्न सके युवालाई रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने र स्थानीय तहको आन्तरिक आम्दानीसमेत बढ्नेछ।

बडीमालिका क्षेत्रको दर्शनका लागि हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गरे पनि व्यवस्थित बसोबास, सहज पहुँच मार्ग, सरसफाइ र प्रचार–प्रसार अझै कमजोर छ। अन्य धार्मिक तथा प्राकृतिक गन्तव्यहरू पनि पर्याप्त रूपमा प्रचार हुन सकेका छैनन्।

नागरिक समाजका अगुवाहरूका अनुसार बाजुरामा पर्यटन विकासका लागि पूर्वाधार निर्माण, गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रचार–प्रसार, निजी क्षेत्रसँग सहकार्य, स्थानीय गाइड उत्पादन, होमस्टे प्रवर्द्धन तथा सांस्कृतिक उत्सवहरूको व्यवस्थित आयोजना आवश्यक छ।

प्राकृतिक र धार्मिक सम्पदाले धनी बाजुरामा स्थानीय तहहरूले स्पष्ट दृष्टिकोणसहित योजनाबद्ध रूपमा काम गर्न सके पर्यटन आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ। तर हालको अवस्थाले भने ‘पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्’ भन्ने यथार्थलाई नै पुष्टि गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button