कोहलपुरमा राष्ट्रिय अन्तर विद्यालय पौडी च्याम्पियनसिप हुँदै
बाँके । बाँकेको कोहलपुरमा वैशाख २६ गतेदेखि अन्तर विद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता सञ्चालन हुने भएको छ।

नेपालगन्ज स्विमिङ क्लब र शिखा एकेडेमी कोहलपुरको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तर विद्यालय स्विमिङ च्याम्पियनसिप २०८३ आयोजना हुन लागेको हो। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
खेल संयोजक सूर्यमणि अधिकारीका अनुसार प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सयभन्दा बढी खेलाडीको सहभागिता सुनिश्चित भइसकेको छ। प्रतियोगितामा ८, १०, १२, १४, १७ वर्ष र सोभन्दा माथिका उमेर समूहका छात्र तथा छात्राबिच २४ विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने छ।
प्राविधिक संयोजक चन्द्रराम चौधरीका अनुसार ८ र १० वर्षमुनिका खेलाडीहरूले २५ मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् भने सोभन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटर दूरीमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाइ गरी चार विधामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा काठमाडौँ, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया र सुर्खेत लगायत विभिन्न जिल्लाका विद्यालयहरूको सहभागिता रहने जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्