कोहलपुर गोल्डकप : लालीगुराँस एसोसियसन र नेपाल पुलिस क्लब सेमिफाइनलमा
बाँके । बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ थप रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिताको तेस्रो र चौथो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

तेस्रो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्यो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा निर्णायक गोलका लागि खेलको इन्जुरी समय कुर्नुपर्यो ।
खेलको ९४औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गरेको गोल नै जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शनका लागि छन्त्याल ‘म्यान अफ द म्याच’ घोषित भए। उहाँलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, गोल्डकप सह–संयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गर्नुभयो।
त्यसैगरी, चौथो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता राइसिङ स्टार क्लब सुनवल, नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै आफ्नो बलियो उपस्थिति देखायो। पुलिसका लागि जर्सी नम्बर ७० का आशिष थारुले २६औँ र ९१औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। दुई गोलका नायक थारु नै ‘म्यान अफ द म्याच’ घोषित भए ।
उनीलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी, नेपाली सेनाका सेनानी पुकार शाह र गायक तथा उद्घोषक कोष खड्काले संयुक्त रूपमा नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गर्नुभएको थियो ।
यससँगै प्रतियोगिताको समूह चरण पूरा भएको छ। समूह चरणबाट कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। पञ्चकोशी युथ क्लब (सुदूरपश्चिम), रोयल फुटबल क्लब (कर्णाली प्रदेश), सातादोबाटो युथ क्लब काठमाडौँ र राइसिङ स्टार क्लब प्रतियोगिताबाट बाहिरिएका छन् ।
म्याच कमिस्नर दयाराम सापकोटाका अनुसार वैशाख २३ गते पहिलो र २४ गते दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनलअघि २५ गते प्रि–म्याच प्रेस कन्फ्रेन्स आयोजना गरिनेछ भने प्रतियोगिताको फाइनल वैशाख २६ गते हुने आयोजकले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्