बुद्ध जयन्ती: लुम्बिनीमा विशेष समारोह, गुरुयोजना अझै अधुरो
रूपन्देही । २५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण परेको मानिँदै आएकाले यस दिनलाई ‘त्रिसंयोग दिवस’का रूपमा विशेष महत्व दिइन्छ।
यस अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार सभामुख डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदैछ। मायादेवी मन्दिरमा बिहानैदेखि पूजा–अर्चना र धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
देशभरका बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा र विहारहरूमा भेला भई परम्परागत विधिअनुसार पूजा गरिरहेका छन्। स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप लगायतका क्षेत्रमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।
लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म भएको मानिन्छ। उहाँले प्रतिपादन गर्नुभएको अष्टाङ्गिक मार्ग र पञ्चशीललाई मानव जीवनका लागि मार्गदर्शक सिद्धान्तका रूपमा लिइन्छ।
यसैबीच, लुम्बिनीको दीर्घकालीन विकासका लागि तयार गरिएको गुरुयोजना अझै पूर्ण कार्यान्वयन हुन सकेको छैन। सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको भ्रमणपछि लुम्बिनी विकासले अन्तर्राष्ट्रिय महत्व पाएको थियो। पछि जापानी वास्तुकार केन्जो टाँगेको नेतृत्वमा गुरुयोजना तयार गरिएको थियो।
गुरुयोजनाले पवित्र उद्यान, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विकास गर्ने लक्ष्य राखे पनि धेरै संरचना अझै अधुरा छन्। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिए पनि यसको पूर्ण कार्यान्वयनमा ढिलाइ भएको देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्