रुपन्देहीमा माइक्रो बस र ईभी ठोक्किँदा २ जनाको मृत्यु, २५ घाइते
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको इभी माइक्रो ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको साथमा रहेका कागजपत्रअनुसार पदम रायमाझी र रानीकुमारी खत्रीको मृत्यु भएको र अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतकहरूको नाम खुले पनि ठेगाना खुलेको छैन ।
यस्तै, पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको छ । स्कुटर चालक कपिलवस्तु बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । एउटै स्कुटरमा तीन जना सवार रहेको र मङ्गलवार साँझ दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्