तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा भीषण आगलागी : १० घर जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा मङ्गलवार बिहान भएको भीषण आगलागीले १० वटा घर र ४ गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बिहान करिब ४ बजेतिर मुनाउ यादवको घरबाट सुरु भएको आगो क्षणभरमै बस्तीभर फैलिँदा पुरै गाउँ नै शोकमा डुबेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपालगञ्ज र नरैनापुरबाट आएका दुई दमकल तथा स्थानीयवासीको सक्रियतामा ३ घण्टा पछि आगो नियन्त्रणमा आएको भए पनि क्षति व्यापक भएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार हाल क्षतिको विवरण सङ्कलनका लागि मुचुल्का तयार भइरहेको छ।

आगलागीमा मुनाउ यादवसहित रफिक अली शेष, अब्बास अली शेष, सहजराम मौर्य, योधी मौर्य, तिर्थ मौर्य, शिवकुमार मौर्य, लल्लु मौर्य र राम पल्टन मौर्यको घर पूर्ण रूपमा जलेका छन्। त्यस्तै रामसुरत यादव, भडभड यादव, अगल मौर्य र साबित अली जोलाहका फुसले छाएका गोठ पनि जलेर नष्ट भएका छन्।

सबैभन्दा पीडादायी पक्ष—मुनाउ यादवको घरमा आज छोरीको विवाह तय थियो । दाइजोका लागि जोहो गरेर राखिएका लत्ताकपडा, खाद्यान्न र आवश्यक सामग्री सबै आगोले नष्ट गरेपछि विवाहको घर एकैछिनमा शोकको घरमा परिणत भएको छ। “खुसीको दिन शोकमा बदलियो, यो पीडा शब्दमा बयान गर्न सकिन्न,” स्थानीयवासीले भावुक हुँदै भने।

सौभाग्यवश मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। तर, फुसले छाएका कच्ची घरका कारण आगो तीव्र रूपमा फैलिँदा क्षति ठूलो भएको नरैनापुर गाउँपालिकाका विपद् शाखा प्रमुख बिनोद चौधरीले बताउनुभयो ।

पीडित परिवारलाई गाउँपालिकाले तत्काल त्रिपाल र रेडी–टु–इँट खाद्यान्न वितरण सुरु गरेको छ। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार प्रहरीको मुचुल्का प्रतिवेदन आए लगत्तै प्रत्येक पीडित परिवारलाई १५ हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइनेछ। तर, स्थानीयको प्रश्न गम्भीर छ—हरेक वर्ष दोहोरिने यस्ता आगलागीका घटनाबाट कहिलेसम्म यसरी नै क्षति व्यहोर्नुपर्ने ?

विशेष गरी तराईका ग्रामीण बस्तीमा फुसले छाएका घर, घना बस्ती संरचना र अग्नि सुरक्षाका न्यून पूर्वाधारका कारण सानो चिंगारीले पनि ठूलो विपत्ति निम्त्याउने गरेको छ।

अब आवश्यक के छ ?

तत्काल राहतसँगै सुरक्षित आवास निर्माण, आगलागी पूर्वतयारी (फायर सेफ्टी तालिम), विद्युत् तथा भान्सा घर सुरक्षा मापदण्ड कडाइ र विपद् जोखिम न्यूनीकरणका दीर्घकालीन योजना अनिवार्य भएको सरोकारवालाहरू बताउँछन्।

यो घटना केवल एउटा गाउँको पीडा मात्र होइन, राज्यको तयारी र प्राथमिकतामाथि गम्भीर प्रश्न पनि हो। पीडितका आँसु सुकाउन तत्काल सहयोगसँगै दीर्घकालीन समाधानतर्फ कदम चाल्नु अब ढिलो गर्नु हुँदैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button