विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य
ताप्लेजुङ । ताप्लेजुङको दुई स्थानीय तहले विद्यार्थी भर्ना अभियानमा खोप कार्ड अनिवार्य गरेको छ । पालिकालाई खोप सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्लाको फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाले विद्यार्थी भर्ना अभियानमा खोप कार्य अनिवार्य गरेको हो ।
पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको भर्ना अभियानमा खोप कार्ड अनिवार्य गरिएको पालिकाले एक सूचना जारी गरि जनाएको छ । पाथीभरा याङवरक गाउँपालिका हेल्थ असिस्टेन्ट विशाल सेजुवालका अनुसार खोप ऐन २०७२ को दफा ३३ मा विद्यालयले बालबालिका भर्ना गर्दा निजको संरक्षक वा अभिभावकसँग खोप कार्ड माग्न सक्ने साथै राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको खोप नलिएका बालबालिकाको अभिलेख राखी सोको जानकारी नजिकको स्वास्थ्य संस्थामा पठाउनुपर्ने प्रावधान राखिएकोले सय कार्यलाई प्रभावकारी बनाउनका लागि खोप कार्य अनिवार्य बनाइको बताउनुभयो ।
जन्मेदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाले लगाउनु पर्ने खोप लाउन छुटेको छ भने खोप लगाउन सहजीकरणका लागि यसै शैक्षिक सत्रको नयाँ विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य समावेश गर्नुपर्ने पालिकाको निर्णय अनुसार विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको पालिकाहरुले जनाएको छ । खोप लगाउन छुटेका बालबालिकालाई अनिवार्य खोपको पहुँचमा ल्याउन यस्तो निर्णय गरिएको फुङलिङ नगरपालिकाका उपमेयर भिमा देवी ओझाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्