पोखरा महानगरको कडाइ: अनधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन
कास्की। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले सूचना जारी गर्दै बिना अनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो ।
नगर कार्यपालिकाको २०८१ वैशाख ३ गतेको निर्णयअनुसार यो सूचना जारी गरिएको महानगरले जनाएको छ । सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले संरचना निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो आएकाले यस्तो कदम चालिएको महानगरले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैँ खाली गर्न वा हटाउन यो सूचना जारी गरिएको छ ।’ महानगरले सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत प्रयोगलाई रोक्न कडा नीति अपनाएको देखिन्छ ,
विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेपछि महानगरले ती सबैलाई हटाउन समयसीमा तोकेको हो । पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्न र सार्वजनिक जग्गालाई संरक्षण गर्न महानगरले यो निर्णय गरेको बताएको छ ।
तोकिएको ३५ दिनको अवधिभित्र सम्बन्धित पक्षले आफैँ संरचना नहटाएमा महानगरले कानुनी प्रक्रिया बमोजिम अघि बढ्ने सङ्केत गरेको छ । महानगरले जारी गरेको यो सूचनाले अतिक्रमणकारीहरूलाई अन्तिम चेतावनी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्