बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
प्राधिकरणले आज केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरेको हो ।
प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको सन्दर्भमा सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले समग्र बीमा क्षेत्रको जोखिम पहिचान न्यूनीकरण गर्नका लागि बीमकको आन्तरिक लेखापरीक्षणलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिष्कृत गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन गर्दा समावेश गर्नुपर्ने विषयहरू र विद्यमान कमी कमजोरीलाई हटाउन गर्नुपर्ने कार्य लगायत समग्र विषयमा राय सुझावहरू दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दाहालले प्राधिकरणले परिमार्जन गर्न लागेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएका विषयवस्तुहरू सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा भएका समस्याहरूका सम्बन्धमा राय सुझावहरू दिनुभएको थियो ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले कार्यक्रमबाट प्राप्त राय सुझावहरूलाई समेत समेटेर निर्देशिकालाई अन्तिम रूप दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी र निर्देशक शाम्भ राज लामिछाने उपस्थित हुनुहुन्थ्यो ।
यसैगरी, कार्यक्रममा बीमकका आन्तरिक लेखापरीक्षण शाखाका प्रमुख र आन्तरिक लेखापरीक्षकहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्