तपाईँ सुन्दै हुनुहुन्छः

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा पोखरा–२४ का वडाध्यक्षलाई जेल सजाय

कास्की । जातीय दुर्व्यवहार तथा छुवाछुतको मुद्दामा दोषी ठहरिएका पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीविरुद्धको जिल्ला अदालत कास्कीको फैसला उच्च अदालतले सदर गरेको छ । 

उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्लाको फैसला कायम राख्दै अधिकारीको पुनरावेदन अस्वीकृत गरेको हो । वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना जेल सजाय हुने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले सदर गरेको हो ।

उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको छ ।

२०७९ साल पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल भइरहेको थियो । सोही क्रममा वडा अध्यक्ष अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबिच विवाद भएको थियो । विवादका क्रममा अध्यक्ष अधिकारीले मैया नेपालीलाई जातीय विभेद हुने गरी अपमान र अमानवीय गालीगलौज गरेका थिए ।

त्यसपछि नेपालीले आफूमाथिको दुर्व्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिन् । २०८० मङ्सिर ७ गते कास्की जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अधिकारीलाई दोषी ठहर गरेको थियो । अदालतले उनलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button