सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।
गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताउनुभयो ।
“हामीले जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गरिरहेका छौँ । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो,“आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।”
काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्