तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रगढी महिला गोल्डकपमा आर्मीको विजयी सुरुआत

झापा । झापाको भद्रपुर ८ स्थित सरकारी स्वामित्वको मेची रङ्गशालामा आजदेखि नेपालकै सर्वाधिक राशिको प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।

आजको उद्घाटन खेलबाट विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

एकपक्षीय खेलमा आर्मीले पोखराको आरएस फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलको ११ औँ मिनेटदेखि नै आर्मीले गोलको सुरुवात गरेको थियो । आर्मीका लागि दिपा शाहीले पहिलो गोल गरिन् । २६ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । बिमला चौधरीले एकल प्रयासमा डिबक्सबाहिरबाट गरेको चिप प्रहार गोलमा परिणत भएको थियो । २८ औँ मिनेटमा चौधरीले अर्को गोल थपिन् भने खेलको ३५ औँ मिनेटमा चन्द्रा भण्डारीले आर्मीका लागि चौथो गोल गरिन् ।

पहिलो हाफ ४–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा २ गोल थप्यो । ५० औँ मिनेटमा आर्मीकी स्ट्राइकर जेनिफर राना मगरले टिमको लागि पाँचौँ गोल गरिन् भने ६२ औँ मिनेटमा चन्द्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत हुँदा पोखराले खेल ६–० ले गुमायो ।

जीतसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला चौधरी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । आइतबार भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीलाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, सङ्कटा फुटबल क्लब र ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button