डिजेलको मूल्य वृद्धिबाट मधेसका किसान प्रभावित
वीरगञ्ज । डिजेलको मूल्य निरन्तर बढेर हाल २ सय ३५ रुपैयाँ प्रतिलिटर पुगेपछि किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।

डिजेलको मूल्य वृद्धिले किसानहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको छ । पछिल्लो एक महिनामै डिजेलको मूल्य झन्डै दोब्बर वृद्धि भएपछि सिँचाइ र खेत जोत्ने खर्च धान्न किसानहरूलाई मुश्किल भएको किसानहरुले बताएका छन् ।
पर्सागढि नगरपालिका बिरुवा गुठीका किसान रामकिशोर चौधरीले हाल हाइब्रिड मकैमा घोगा लागेकाले महँगो डिजेल खर्च गरेर पनि सिँचाइ गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले डेढ बिगाहा क्षेत्रमा मकै खेती गर्नुभएको छ ।
एक महिनामै डिजेलमा दोब्बर मूल्यवृद्धि भए पनि मकै जोगाउन सिचाइँका लागि पम्पसेट चलाउनुपर्ने बाध्यता रहेको बताउँदै तर किसानले उत्पादन गरेको मकैले भने उचित मूल्य पाउन नसक्नु दुर्भाग्यको विषय भएको गुनासो गर्नुभयो ।
हाल मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा बढ्दो गर्मीका कारण मकै र तरकारी सुक्न नदिन बारम्बार सिँचाइ गर्नुपर्ने अवस्था रहेको छ ।
डिजेलको मूल्यवृद्धिले किसानले प्रयोग गर्ने ट्याक्टरको लागत पनि उल्लेख्य रूपमा बढाएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ का किसान सुरेन्द्र खड्काले अहिले ट्याक्टरले एक घण्टा जोतेको २ हजार ५०० रुपैयाँसम्म लिन थालेको बताउनुभयो । विगतमा ट्याक्टरले खेत जोते बापत १ हजार ४०० देखि १ हजार ६०० रुपैयाँसम्म लिने गरेकोमा अहिले एक्कासी घण्टाकै १ हजार भन्दा बढी मूल्यवृद्धि भएको गुनासो खड्काले गर्नुभयो ।
पर्सा, बारा लगायतका जिल्लामा नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहले अधिकांश क्षेत्रमा कृषि विद्युतीकरण विस्तार गरे पनि अझै केही स्थानमा बिजुली नपुगेकाले किसानहरू पम्पसेटकै भरमा सिँचाइ गर्न बाध्य रहेको धोबिनी गाउँ पालिकाका किसान धर्मेन्द्र पटेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्