आधुनिकतासँगै ओझेलमा राडी, पाखी व्यावसाय
बाजुरा । आधुनिक प्रविधिको बढ्दो प्रभावसँगै बाजुरामा परम्परागत राडी–पाखी व्यवसाय सङ्कटमा पर्दै गएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा पहिले व्यापक रूपमा प्रचलित रहेको तान बुन्ने सीप अहिले बिस्तारै हराउँदै जान थालेको हो।

पहिले गाउँघरमा भेडा पालन र राडी–पाखी उत्पादनलाई राम्रो आम्दानीको स्रोतका रूपमा लिइन्थ्यो। स्थानीय स्तरमै उत्पादन हुने ऊनबाट राडी, पाखी, कम्मल र फेरुवा बुनेर धेरै परिवारले जीविकोपार्जन गर्दै आएको थिए। तर अहिले बदलिँदो समय, बजारमा पाइने सस्ता र आधुनिक कपडाको प्रयोग तथा युवापुस्ताको घट्दो चासोका कारण यो पेशा सङ्कटमा परेको छ।
वनजंगल तथा चरन क्षेत्र घट्दै जानु र नगदे बालीतर्फ किसान आकर्षित हुन थालेपछि भेडा पालन गर्नेको संख्या समेत घट्दै गएको छ। यसको असर ऊन उत्पादनमा परेको छ भने ऊनकै अभावले राडी–पाखी व्यवसाय नै प्रभावित बनेको छ।
लामो समयदेखि राडी पाखी व्यवसाय गर्दै आउनुभएकी बडिमालिका नगरपालिका–७ की ६४ वर्षीया कला थापाका अनुसार पहिला गाउँमा भेडा धेरै हुन्थे, ऊन सजिलै पाइन्थ्यो, काम पनि राम्रै चल्थ्यो। अहिले ऊन पाउनै गाह्रो भएको छ। जसले तान बुन्ने काम नै रोकिन थालेको उहाँको भनाइ छ।
जिल्लाको पूर्वी–उत्तरी भेगमा फाट्टफुट्ट रूपमा तान बुन्ने प्रचलन देखिए पनि यसलाई व्यवसायकै रूपमा अपनाउने संख्या निकै कम भइसकेको छ। धेरै मेहनत गर्नुपर्ने र आम्दानी अनिश्चित हुने भएपछि यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयको बुझाइ छ।
भेडाको ऊनबाट बनेका राडी, कम्मल, पाखी र फेरुवाको मूल्य तीन हजारदेखि आठ हजार रुपैयाँसम्म पर्ने गर्दछ।








प्रतिक्रिया राख्नुहोस्