करोडौँको लगानीमा निर्मित खानेपानीका संरचना प्रयोग विहीन
वीरगञ्ज । वीरगन्ज महानगर सहित पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा सुख्खा मौसम र गर्मीयाम सुरुभए सँगै खानेपानीको समस्या फेरी बल्झँदै गएको छ । विगतका वर्षहरूमा जस्तै यसबर्ष पनि खानेपानीको समस्या उत्पन्न हुने भयले स्थानीय पिरोलिएका छन् ।

पर्सामा शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका खानेपानीका संरचनाहरू वर्षौंदेखि प्रयोगमा आउन नसक्दा समस्या जटील बन्दै गएको हो ।
पर्सा जिल्लाको ठोरी देखि वीरगन्ज सम्मका ग्रामिणक्षेत्रहरुमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्सामार्फत निर्माण गरिएका दर्जनौँ खानेपानी योजनाका ओभरहेड ट्याङ्की सहितका संरचनाहरू हाल बेवारिसे बनेका छन् ।
पोखरिया, भिष्वा, सेढवा, मनवा, बढनियार, सोलकपुर, महुवन, लालपर्सा, पशुरामपुर, रंगपुर, सोनवर्षा, सुवर्णपुर, मालीबस्ती, हनुमाननगर, बिजयबस्ती, निर्मलबस्ती लगायतका ग्रामणिक्षेत्रमा ओभरहेड ट्याङ्की, बोरिङ, कम्पाउन्डवाल, पम्प हाउस जस्ता संरचना निर्माण गरिएको भए पनि अधिकांश योजना उपभोक्ता समिति र खानेपानी संस्थान बिच सञ्चालन सम्बन्धि सहमति हुन नसक्दा एक दशकभन्दा बढी समयदेखि अलपत्र अवस्थामा रहेका छन् ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २, रंगपुरस्थित खानेपानी आयोजना आर्थिक वर्ष २०७३÷०७४ मा सुरु भएको थियो । उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र गौरोका अनुसार जग्गा उपलब्ध गराई समिति गठनपछि डिभिजन कार्यालयले ठेक्का मार्फत संरचना निर्माण गराएको थियो । तर, पाइपलाइन तथा मिटर जडानको काम अधुरै भएको कारण हालसम्म खानेपानी वितरण हुन सकेको छैन ।
तीन वर्षदेखि काम बन्द रहेको र पुनः सञ्चालनबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै अध्यक्ष गौरोले ठेक्कादारले एकपटक आएर बोरिङ जडान गरेर फर्किएको तर त्यसपछि कुनै गतिविधि नभएको जानकारी दिनुभयो ।
त्यसैगरी ठोरी गाउँपालिकाका सूचना अधिकारी रमेशराज थिङ्गले ठोरीमा ७ वटा खानेपानी योजना मध्ये हाल ब्रह्मानगर, बुद्धनगर, बिजयबस्ती, गौतमनगर, हनुमाननगर र सुवर्णपुरमा खानेपानी वितरण शुरु भएपनि अन्य दुई ठाउँमा निर्माण गरिएका खानेपानी ट्याङ्की सहितका संरचना अलपत्र बनेको बताउनुभयो ।
२०७६÷०७७ मा तत्कालीन शंकरसरैया र सोनवर्षा गाउँमा पनि २÷२ करोड रुपैयाँको खानेपानी योजना अन्तर्गत आवश्यक संरचना निर्माण गरिएको भएपनि पर्सा राष्ट्रिय निकुञ्जको घोडेमसान खोलाबाट पानी ल्याई वितरण गर्ने योजना अधुरै रहेको छ ।
स्थानीयवासीको भनाइमा आयोजनाको कार्यान्वयन, अनुगमन र जिम्मेवारीबारे स्पष्टता नहुँदा करोडौँ बजेट खर्च भएर पनि शुद्ध खानेपानीको उपयोग गर्न सर्वसाधारण वञ्चित भएका छन् ।
खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न सरकारले करोडौँ बजेट खर्च गरेर भौतिक पूर्वाधार निर्माण गरेको भएपनि यसको सञ्चालन सम्बन्धि आवश्यक ब्यबस्था सहित खानेपानी संस्थानको लापर्बाहीको कारण करोडौँको लगानि खेर गईरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्