तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित

जनकपुरधाम । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता ३८औँ खेल अन्तर्गत आज जनकपुरधाममा सम्पन्न भएको नेपाल प्रहरी र सुदूरपश्चिम प्रदेश बीचको खेलमा सुदूरपश्चिम विजयी भएको छ । 

जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा पहिलो व्याटिङ्ग गरेका सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले ४०.४ ओभरमा सबै विकेट गुमाएर १९२ रन जोडेका थिए । 

१९२ रनको लक्ष्यसहित खेल मैदानमा आएका नेपाल प्रहरीको टिमले ३५.१ ओभरमा अल आउट भएर १३५ रन मात्र बनाएर सुदूरपश्चिमसँग ५६ रनले पराजित भएको हो । 

सुदूरपश्चिमका नारायण जोशीले ८० बलको सामना गर्दै ८२ रन जोडेर टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए । यसैगरी सुदूरपश्चिमका खड्ग बोहोराले २२ रन, राजु रिजाल १६, किरन ठगुन्ना १७, अशोक धामी १५ र हेमन्त धामीले २० रन जोडेका थिए । 

नेपाल प्रहरीका सागर ढकाल ३ विकेट, दिनेश खरेल ४ विकेट कुशल भुर्तेल २, गुलशन झा १ विकेट लिएका थिए । 

१९२ रनको लक्ष्यसहित खेल मैदानमा आएका नेपाल प्रहरीका तर्फबाट गुलसन झाले अद्र्धशतक अर्थात् ५० रन प्रहार गरे पनि अन्य व्याट्स म्यानको प्रदर्शन सन्तोषजनक भएनन् । 

नेपाल प्रहरीका दिलसाद आलम, आरिफ शेख र अमित श्रेष्ठले समान १९–१९ रन बनाएका थिए भने दिनेश खरेल १० र शङ्कर राना १० रन बनाए पनि अन्य व्याट्स म्यान चलेन । 

सुदूरपश्चिमका तर्फबाट हेमन्त धामी ३, शेर मल्ल ३, नारायण जोशी १, अशोक धामी १ र खड्ग बोहोरा १ विकेट लिएका थिए । आजको खेलमा सुदूरपश्चिमका नारायण जोशीले ८२ रन र १ विकेट लिए बापत प्लेयर अफ दि म्याच भएका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button