चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ ।

अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे ।
करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो ।
मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उहाँहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उहाँहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्याएका थिए ।
नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उहाँहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताउनुभयो । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् ।
ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो ।
छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो ।
यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बन्नुभयो भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज हुनुभयो । उहाँहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गर्नुभएको थियो ।
अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी—चार लाख छ हजार ७७१ किलोमिटर—पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन ।
यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ ।
नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ ।
अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस/एपी)








प्रतिक्रिया राख्नुहोस्