खेन्पो साङ्गे तेन्जीनका कृति सार्वजनिक
काठमाडौँ । शेर्पा समुदायका महान् विद्वान् तथा इतिहासकार खेन्पो साङ्गे तेन्जीन रिन्पोछेका कृतिहरू आज काठमाडौँमा सार्वजनिक गरिएको छ।

ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) को आयोजनामा बौद्धस्थित शेचेन गेस्ट हाउस परिसरमा आयोजित कार्यक्रममा उक्त कृतिहरू विमोचन गरिएको हो।
कार्यक्रममा परम पूजनीय क्याब्जे शेचेन राख्ज्याम रिन्पोछे प्रमुख अतिथि रहनुभएको थियो भने सेर्लो गोन्पाका प्रमुख श्रद्धेय टुल्कु पेमा थारछिन रिन्पोछेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा खेन्पो साङ्गे तेन्जीन रिन्पोछेद्वारा लिखित शेर्पा वंशावली र इतिहाससम्बन्धी दुई वटा महत्वपूर्ण पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ। चाडा फाउन्डेशनको सहयोगमा सेर्लो गोन्पाले उहाँका कृतिहरू सङ्कलन तथा सम्पादन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने योजना अन्तर्गत पहिलो चरणमा यी पुस्तकहरू सार्वजनिक गरिएको हो।

खेन्पो साङ्गे तेन्जीन रिन्पोछेले करिब १२ वर्ष तिब्बतका विभिन्न गोन्पाहरूमा बौद्ध धर्म, दर्शन तथा साहित्यको अध्ययन गर्नुभएको थियो। त्यसपछि आफ्नै गाउँ फर्किएर गोन्पा स्थापना गरी विद्यार्थीहरूलाई शिक्षा दिनुका साथै भोट व्याकरण, शेर्पा वंशावली, धार्मिक इतिहास लगायतका विषयमा महत्वपूर्ण ग्रन्थहरू लेख्नुभएको थियो।
कार्यक्रममा विभिन्न रिन्पोछे, टुल्कु, खेन्पो तथा लोपेनहरूको उपस्थिति रहेको थियो। साथै नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
आयोजकका अनुसार बाँकी कृतिहरू आगामी वर्षहरूमा क्रमशः प्रकाशन गरिनेछ।








प्रतिक्रिया राख्नुहोस्