तपाईँ सुन्दै हुनुहुन्छः

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौंः मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेको बताउँदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनको १६ औँ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक विशेषज्ञहरूसँगको सहकार्यमार्फत अनुसन्धानलाई नतिजामुखी बनाउन सकिने बताउनुभयो । उहाँले किसानलाई व्यावसायिक बनाउन प्राविधिक क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

नयाँ समस्या देखिँदा त्यसको पहिचान र समाधानका लागि अनुसन्धान गर्ने जिम्मेवारी प्राविधिकहरूले लिनुपर्ने उहाँ भनाइ थियो । ‘मानिसका डाक्टरभन्दा पशु चिकित्सकहरूको जिम्मेवारी अझ बढी हुन्छ’ उहाँले भन्नुभयो,‘पशुमा लाग्ने रोगको सही निदान र उपचार भएमा मानिसमा सर्ने धेरै रोगहरू स्वतः नियन्त्रण हुन्छन् । त्यसैले भूमिका महत्त्वपूर्ण छ ।’

मुख्यमन्त्री आचार्यले अस्वस्थकर खाद्य प्रणाली नै धेरै रोगहरूको मूल कारण रहेको पनि औँल्याउनुभयो । उहाँले परम्परागत पेसालाई बेवास्ता गर्दा उत्पादनमा कमी आएको उल्लेख गर्दै त्यसतर्फ पुनः ध्यान दिन आवश्यक रहेको बताउनुभयो । यसैबीच मुख्यमन्त्री आचार्य मुलुक साझा प्रयत्नले मात्रै समृद्ध बनाउन सकिने बताउनुभयो । ‘यो मुलुक हामी सबै मिलेर बनाउने हो, कुनै अलौकिक शक्तिले बनाएर दिने होइन’ उहाँले भन्नुभयो ‘हाम्रो साझा प्रयासबाट मात्रै जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button