गाउँमै स्वास्थ्य सेवा: डुडुवामा पाँच शैय्याको अस्पताल सुरु
बाँके । बाँकेको डुडुवा गाउँपालिकामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत स्थापना गरिएको अस्पतालबाट बुधबारदेखि २४सै घण्टा सेवा सुरु भएको हो।
अस्पताल सञ्चालनसँगै स्थानीयलाई उपचारका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। संघीय सरकारको मापदण्डअनुसार निर्माण गरिएको अस्पतालले ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जना स्वास्थ्यकर्मी खटिएका छन्। अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला, औषधि सेवा, डिजिटल एक्स–रेलगायत सुविधा उपलब्ध छन्।
स्वास्थ्य शाखाका अनुसार विपन्न, गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइनेछ भने अन्यलाई सहुलियत दरमा उपचार उपलब्ध हुनेछ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
डुडुवा गाउँपालिकाले पछिल्लो समय प्रयोगशाला सेवा, एम्बुलेन्स, खोप, प्रसूति सेवा र गाउँघर क्लिनिकमार्फत स्वास्थ्य पहुँच विस्तार गर्दै आएको छ।
अस्पताल सञ्चालनसँगै स्थानीयले समयमै उपचार पाउने र खर्च घट्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्