तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी चेपाङ्ग लाभान्वित

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१० किरनटारमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै एक हजार चेपाङ्ग समुदायले स्वास्थ्य सेवा लिएका छन् । 

विपन्न चेपाङ र तामाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरबाट १ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो  ।

ग्रीन सोसाइटी नेपाल चितवनको आयोजनामा तथा राप्ती नगरपालिका–१० को सह–आयोजनामा राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ग्रीन सोसाइटी पब्लिक स्कुल चितवनले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो । शिविरलाई काठमाडौँस्थित शान्ति सेवा गृह तिलगंगाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको शिविर अन्तर्गत चैत २२ गते माडीमा ८ सय ५२ जना र २३ गते राप्तीमा झन्डै १ हजार बढी सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा सुगर तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, दन्त उपचार, फिजियोथेरापी, बालरोग तथा स्त्रीरोग सेवा, रक्त परीक्षण र एक्स–रे जस्ता सेवाहरू प्रदान गरिएको थियो । सेवाग्राहीलाई निःशुल्क औषधि वितरण, दन्तमञ्जन र ब्रस वितरण, सेनिटरी प्याड उपलब्ध गराउने तथा बालबालिकाका लागि लिटो वितरण गर्ने कार्य समेत गरिएको थियो ।

स्थानीय स्तरमै सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत मिलेको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button