कोशी प्रदेशमै पहिलो पटक उदयपुरमा प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता हुँदै

उदयपुर । कोशी प्रदेशमै पहिलो पटक उदयपुरमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघ जिल्ला समिति उदयपुरले प्रतियोगिता चैत २६ र २७ गते बेलका नगरपालिका–८ बोप्ताङमा सञ्चालन हुने जानकारी दिएको छ ।
प्रतियोगिताबारे जानकारी दिन मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सङ्घले चार जना विदेशी पाइलटसहित कुल ३५ जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ। सहभागीमध्ये दुई जना भारत, एक जना चीन र एक जना जर्मनीका पाइलट रहनेछन् भने बाँकी नेपाली पाइलटहरू रहने संघका अध्यक्ष इश्वरमान राईले जानकारी दिनुभयो।

प्याराग्लाइडिङ एक्युरेसी विशेष हवाई खेलकुद हो, जसमा पाइलटहरूले आकाशबाट उडेर जमिनमा तोकिएको निश्चित बिन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन् भन्ने प्रतिस्पर्धा हुन्छ। संघका सचिव जितेन्द्र रोइलाका अनुसार प्रत्येक पाइलटले तीन–तीन पटक अवतरण गर्ने अवसर पाउनेछन्।
प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका निर्णायक तथा मूल्याङ्कनकर्तामा भारतका राजु राई (सिक्किम) सहित नेपालका सुरेन गुरुङ र विमल अधिकारी रहने सचिव रोइलाले जानकारी दिनुभयो।
संघका अनुसार उदयपुरमा हाल दुई जना महिला र १६ जना पुरुष गरी कुल १८ जना सोलो प्याराग्लाइडिङ पाइलट रहेका छन्। जिल्लामा २०७८ सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको हो।
प्याराग्लाइडिङ क्षेत्रको विकासका लागि विभिन्न स्थानीय तहहरूले पनि लगानी गरेका छन्। कटारी नगरपालिकाले २ लाख, त्रियुगा नगरपालिकाले ५ लाख, चौदण्डीगढी नगरपालिकाले १ लाख तथा बेलका नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका छन्।
बेलका नगरपालिका–८ बोप्ताङमा ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रा.लि.’ मार्फत हाल आधारभूत पाइलट तालिम सञ्चालन भइरहेको छ। उक्त प्रशिक्षण केन्द्रमा नेपालसहित भारत, चीन तथा युरोपका स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड र पोर्चुगलबाट समेत प्रशिक्षार्थी आउने गरेका छन्।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका केन्द्रीय सदस्य महेन्द्र राईका अनुसार उदयपुरका रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी, चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढी, कटारी नगरपालिकाको महाभार क्षेत्र तथा त्रियुगा नगरपालिकाका विभिन्न डाँडाहरू प्याराग्लाइडिङका लागि उपयुक्त स्थानका रूपमा रहेका छन्।
यद्यपि, आवश्यक पूर्वाधार (टेकअफ र ल्यान्डिङ क्षेत्र) को अभाव तथा स्पष्ट सरकारी नीति नहुनु मुख्य चुनौती रहेको सोलो पाइलट भुपाल राउतले बताउनुभयो। उहाँका अनुसार उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र अनुकूल मौसमका कारण यहाँ प्याराग्लाइडिङको उत्कृष्ट सम्भावना रहेको छ।
महाभारत क्षेत्रबाट भित्री मधेशतर्फ फैलिएका चुरेका फाँटहरू टेकअफ र ल्यान्डिङका लागि उपयुक्त रहेकाले स्थानीय, प्रदेश र संघीय सरकारले साहसिक पर्यटनलाई प्राथमिकतामा राखेमा उदयपुरमा प्याराग्लाइडिङ क्षेत्रको उल्लेखनीय विकास हुने अपेक्षा गरिएको छ।
यस प्रतियोगिताको प्रायोजक कोशी प्रदेश पर्यटन कार्यालय धरान सुनसरी रहेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्