तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालद्वारा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

काठमाडौँ । रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाबाट उत्कृष्ट काम गर्ने कर्मचारीहरू पुरस्कृत तथा सम्मानित हुनु भएको छ ।

संस्थाको ७६ औँ वार्षिकोत्सवको अवसरमा सञ्चार तथा कार्यक्रम महाशाखाबाट वरिष्ठ समाचार सम्पादक अशोक कुमार मिश्र र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहाल सम्मानित हुनुभएको छ । त्यस्तै प्रशासन सेवातर्फ लेखापाल बिन्दु गोपाली र कार्यालय सहयोगी राधा भट्टराई सम्मानित हुनुभएको छ भने इन्जिनियरिङ सेवातर्फ प्राविधिक अधिकृत रामप्रकाश महतो र चक्रसिंह कठायत पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।

वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमल्सिनाले नगद तथा सम्मान पत्रद्वारा सम्मान तथा पुरस्कृत गर्नुभएको हो ।

उहाँहरूलाई रु १२ हजार पाँच सय नगदसहित सम्मानपत्रले सम्मानित गरिएको हो ।

त्यस्तै रेडियो नेपालमा २५ वर्ष सेवा पुरा गर्नुभएका दुई जनालाई दीर्घ सेवा पदकसहित सम्मानित गरिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गीता भट्टराई र समाचार संवाददाता ध्रुव अधिकारीलाई कदर पत्रसहित सम्मान गरिएको हो ।

साथै उत्कृष्ट प्रसारण केन्द्र तथा कार्यालय तर्फ प्रादेशिक प्रसारण कार्यालय धनकुटालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button