रानाभाट स्मृति पुरस्कारबाट साहित्यकार गणेश जी.सी. सम्मानित

बाँके । भेरी साहित्य समाज केन्द्रीय समिति, नेपालगन्जको आयोजनामा ‘लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार तथा सम्मान अर्पण’ कार्यक्रम भव्य र भावनात्मक वातावरणबीच सम्पन्न भएको छ ।
यस वर्षको प्रतिष्ठित लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कारबाट बाँकेका वरिष्ठ साहित्यकार गणेश जी।सी। सम्मानित भएका छन् । उनलाई रु १५ हजार १११ नगदसहित खादा ओढाएर कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कोषका संस्थापकद्वय भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटले सम्मान अर्पण गरेका हुन् ।
त्यसैगरी, सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी उपाध्यक्ष तथा राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जकी प्रमुख दुर्गा दिदीलाई पनि सोही अवसरमा स्मृति सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, प्रलेस नेपालका पूर्व अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जीवेन्द्रदेव गिरिले साहित्य र समाजबीचको सम्बन्धबारे महत्वपूर्ण धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वरी रिजाल ‘उल्कापात’ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कोषका संस्थापकद्वयले आफ्ना दिवङ्गत अभिभावकको स्मरण गर्दै कोष स्थापना र यसको यात्राबारे जानकारी गराएका थिए ।
कार्यक्रममा कोषमा हालसम्म रु ३ लाख १३ हजार १११ सञ्चित भएको जानकारी दिइएको थियो । यसै क्रममा भीमबहादुर रानाभाटका सुपुत्र इन्जिनियर दीपक रानाभाटले थप रु ५० हजार १११ सहयोग घोषणा गर्दै कोषलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय अध्यक्ष डा। हरिप्रसाद तिमिल्सिनाले पुरस्कृत तथा सम्मानित व्यक्तित्वको योगदानमाथि प्रकाश पारेका थिए ।
साहित्यिक माहोललाई अझ जीवन्त बनाउँदै तारा खत्री, अर्चना पाठक, करिस्मा योगी, सिता पोखरेल ‘सुनगाभा’ र पत्रकार निशु जोशीले कविता वाचन गरेका थिए । त्यस्तै, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मासहित सुन्दर गुरुङले गीत प्रस्तुत गरी कार्यक्रममा साङ्गीतिक रङ्ग थपेका थिए ।
महासचिव सुन्दर गुरुङले सहजीकरण गरेको कार्यक्रमले साहित्य, संस्कृति र सामाजिक योगदानलाई एउटै मञ्चमा जोड्दै नेपालगन्जको सांस्कृतिक धड्कनलाई पुनः जीवन्त बनाएको सहभागीहरूले बताएका छन् ।
स्वर्गीय लक्षिमा रानाभाट र शेरबहादुर रानाभाटको स्मृतिमा उनका सुपुत्र भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटद्वारा स्थापना गरिएको कोषले निरन्तर रूपमा साहित्यिक र सामाजिक योगदानलाई सम्मान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्