तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिइरहेको अवस्थामा जिल्ला अदालत रौतहटका कर्मचारी पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले जिल्ला अदालत रौतहटका एक कर्मचारीलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

मङ्गलवार कार्यालय परिसरमै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अदालतका (डिट्ठा) लवकुमार सिंह पक्राउ परेका हुन् । अख्तियारका अनुसार सिंहलाई नगद रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सिंह रौतहटको परोहा नगरपालिका–बसन्तपट्टि निवासी हुन् । उनी करार सेवामा कार्यरत रहँदै जिल्ला अदालतको तहसिलदार फाँटमा काम गर्दै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयले घुस लिएको पुष्टि गर्दै सो रकम कुन प्रयोजनका लागि लिइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button