तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप विजेता टिमलाई पालिकाको सम्मान

उदयपुर । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजना गरिएको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जित्न सफल बसाहा क्लब, उदयपुर लाई चौदण्डीगढी नगरपालिकाले सम्मान गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित जनता कलेजको खेलमैदानमा गत फागुन ३० गतेदेखि सञ्चालन भएको उक्त प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइतबार चैत ८ गते उपाधि हात पार्न सफल भएको थियो । प्रतियोगिताको फाइनलमा लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले हराउँदै बसाहा क्लब उदयपुरले उपाधि प्राप्त गरेको थियो । 

उपाधि विजेता बसाहा क्लबलाई चौदण्डीगढी नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। सम्मान कार्यक्रममा नगर प्रमुख कालुमान लामाले क्लबका खेलाडी तथा पदाधिकारीलाई प्रशंसा पत्र र नगद ५ हजार प्रदान गर्दै सम्मान व्यक्त गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले बसाहा क्लबको उपलब्धिले चौदण्डीगढी नगरपालिकासहित समग्र उदयपुर जिल्लाकै खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्नुभयो । 

नगरपालिकाले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान र खेलाडी प्रोत्साहनका लागि निरन्तर सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता नगर प्रमुख लामाले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button