तपाईँ सुन्दै हुनुहुन्छः

हुरी बताससहित वर्षा: मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तर पूर्वतिर सर्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो । 

विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरी बताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उहाँले मकवानपुर गढीमा ४४ दशमलव दुई२ मिलिमिटर वर्षा भएको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलिमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताउनुभयो । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट बिस्तारै उत्तर पूर्वतर्फ सर्दै गएको उहाँले जानकारी दिनुभयो । उहाँले आगामी करिब तीन घण्टासम्म हुरी बताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभयो ।

विभागका अनुसार हुरी बताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यक बाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ । कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन विभागको अनुरोध हो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button