रेडियो नेपाल दाङको भौतिक तथा प्राविधिक अवस्था सुधारमा केन्द्रको चासो
दाङ । सार्वजनिक सेवा प्रसारक रेडियो नेपाल काठमाडौँबाट आएको प्राविधिक टोलीले रेडियो नेपाल दाङको भौतिक संरचना र प्राविधिक अवस्थाको अनुगमन तथा निरीक्षण गरेको छ।
रेडियो नेपाल काठमाडौँ अन्तर्गत इन्जिनियरिङ महाशाखाका प्रमुख निर्देशक सच्चिदानन्द यादव नेतृत्वको टोलीमा डिभिजनल इन्जिनियर नेहा श्रेष्ठ लगायतका प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो। टोलीले लुम्बिनी प्रदेश प्रसारण अन्तर्गत रहेको रेडियो नेपाल दाङको भवन, उपकरण, प्रसारण प्रणाली तथा समग्र प्राविधिक अवस्थाको स्थलगत अवलोकन गरेको हो।

अनुगमनका क्रममा प्रमुख निर्देशक यादवले रेडियो नेपाल दाङको भौतिक अवस्था सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निर्माणाधीन नयाँ भवनमा कार्यालय स्थापनाका लागि छिटो तथा व्यवस्थित रूपमा सम्पन्न गर्न आफू केन्द्रबाट समन्वय र सहजीकरणमा सक्रिय रहने बताउनुभयो। साथै, गुणस्तरीय प्रसारण सेवा विस्तारका लागि आवश्यक प्राविधिक पूर्वाधार सुदृढ गरिने उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, डिभिजनल इन्जिनियर नेहा श्रेष्ठले प्रदेश स्तरमा रहेका रेडियो स्टेसनहरूले भोगिरहेका प्राविधिक समस्यालाई समाधान गर्न केन्द्रले विशेष ध्यान दिने बताउनुभयो। उहाँले उपकरण व्यवस्थापन, मर्मत तथा नयाँ प्रविधि विस्तारमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो।
कार्यक्रममा रेडियो नेपाल दाङका प्रमुख सूर्य विष्टले कार्यालयको वर्तमान भौतिक अवस्था, सीमित स्रोतसाधन र प्राविधिक चुनौतीका विषयमा जानकारी गराउँदै आवश्यक सहजीकरणका लागि केन्द्रसँग आग्रह गर्नुभयो। उहाँले यहाँ कार्यरत कर्मचारीहरूको सकारात्मक सोच र प्रतिबद्धताले सेवा प्रवाहमा उत्साह थपिएको उल्लेख गर्दै रेडियो नेपाल दाङको गरिमा जोगाउँदै थप प्रभावकारी प्रसारणमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो।

सो अवसरमा कर्मचारीहरूले सुरक्षित, सहज र प्रविधिमैत्री कार्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले प्रसारण गुणस्तर अभिवृद्धिका लागि आवश्यक उपकरण, जनशक्ति र तालिमको व्यवस्थापन गर्न केन्द्रसँग माग गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण रेडियो नेपाल दाङका कार्यक्रम संयोजक सुरेश सुमन डाँगीले गर्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्