तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन तथा पूजाआराधना गर्नुभएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो ।

त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत  गरिएको थियो ।

पूजा आराधनापश्चात् प्रधानमन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो  विशुद्ध धार्मिक यात्रा भएको बताउनुभयो । 

प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहाँले जनकपुरधामसहित  देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button