प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।

बबरमहलस्थित प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे जानकारी पनि लिनुभयो । त्यस क्रममा उहाँले सेवाग्राहीसँग अन्तर्क्रिया पनि गर्नुभयो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटोछरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी गराउनुभयो। सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उहाँको भनाइ थियो।
उहाँका अनुसार दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सिसिटिभीबाट अनुगमन गर्न सकिन्छ। गुनासा वा कार्यगत जटिलताहरू ठाउँको ठाउँ सम्बोधन गरिन्छ। सेवाग्राहीलाई वाइफाई, तातो पानी र चिसो पानीको व्यवस्था छ।
प्रजिअ पौडेलले जेनजी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाज सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो ढाँचा अपनाइएको र यसलाई जेनजी योद्धाहरूमै समर्पित गरिएको बताउनुभयो। यो प्रणाली कार्यान्वयन गर्न काठमाडौँ जिल्लाका स्थानीय तहहरूसँग पनि समन्वयन र सहकार्य गरिएको उहाँले जानकारी दिनुभयो।

जनतालाई सेवा प्रवाह गर्न अपनाइएको यस प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताउनुभयो।
पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली स्थापित गर्ने जमर्को गरेको स्मरण गर्दै त्यसै परिकल्पनाअनुसारको काम आज प्रशासन कार्यालयमा देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
अनुगमनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी हुनुहुन्थ्यो।
तस्बिर: केशव थापा, प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया राख्नुहोस्