एमाले उपाध्यक्ष पौडेलको अपिल: नीति, नेतृत्व र कार्यशैली फेरौँ
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमाले को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनः गठन गर्न अपिल गर्नुभएको छ।
रुपन्देही क्षेत्र न-२ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजितसमेत हुनुभएका पौडेलले आज विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गर्नुभएको छ ।
उहाँले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र न-२ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भन्नुभएको छ ।
उहाँले यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गर्नुभएको छ ।
“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्