तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा ५४ प्रतिशत मत खस्यो

म्याग्दी I बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा ५४ दशमलव दुई प्रतिशत मत खसेको छ । 

८६ हजार तीन सय ९७ मध्ये ४६ हजार आठ सय ९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २५ हजार ११८ जना महिला, २१ हजार ७७४ जना पुरुष र एक जना यौनिक अल्पसङ्ख्यकले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिनुभयो ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटा वडामा रहेका १२० वटा स्थायी र दुई वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो । मतदान स्थलबाट बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धवलागिरी गाउँपालिका–१ गुर्जाको एक वटा बाहेकको मतपेटिका सङ्कलन भइसकेको छ । आज बिहान ७ः०० बजे सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको भवनमा मतेपटिका सङ्कलन गरी समानुपातिक र प्रत्यक्षतर्फको दुई वटा कोठामा राजनीतिक दलका प्रतिनिधाहरूको उपस्थितिमा शिलबन्दी गरेर मतपेटिका भण्डारण गरिने भएको छ । मतपेटिका भण्डारण र मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा तारजाली लगाएर ठाउँ बनाइएको छ । दुई वटा समूहमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । 

प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button