प्रतिनिधिसभा निर्वाचन: खोटाङमा ४३ प्रतिशत मत खस्यो
खोटाङ। आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरी ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् ।
जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको थियो । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
जिल्लामा एक लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ । टाढा रहेका सबै मतदान केन्द्रबाट भोलि फागुन २२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइएको छ । नजिकै रहेका मतदानस्थलबाट मतपेटिका आउन थालेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको खोटाङमा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ ।
यस्तै, डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यसपटकको निर्वाचनमा पुरानै राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्