तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ६१ प्रतिशत मतदान, यी पाँच स्थानमा हुँदैछ गणना

रुपन्देही । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देहीमा आज सम्पन्न मतदानमा प्रारम्भिक अनुमान अनुसार ६१ प्रतिशत बढी मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन र शिलबन्दी गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले पूरै तथ्याङ्क प्राप्त भई नसकेको र प्रारम्भिक जानकारी अनुसार रुपन्देहीमा ६१ प्रतिशत बढी मत खसेको उहाँले बताउनुभयो । मतपेटिका प्राप्त गरिसकेपछि यथार्थ विवरण सम्प्रेषण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

मतगणनाका सन्दर्भमा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मतपेटिका प्राप्त भइसकेपछि सर्वदलीय बैठकको प्रस्ताव अनुसार आज राती वा भोली बिहानदेखि मतगणना सुरु हुनेछ ।

रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच वटा निर्वाचन क्षेत्र छन् । यो जिल्लामा ३ लाख ४६ हजार २ सय ३ पुरुष, ३ लाख २६ हजार ३ सय ११ महिला र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालय क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल, तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button