उदयपुरमा शान्तिपूर्ण मतदान सम्पन्न, ५२ प्रतिशत मत खस्यो

उदयपुर । उदयपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभरका सबै मतदान केन्द्रमा निर्धारित समयअनुसार साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालका अनुसार जिल्लामा कुल ५२ प्रतिशत मत खसेको छ। उहाँका अनुसार जिल्लामा रहेका २ लाख ३८ हजार ७२६ जना मतदातामध्ये १ लाख २४ हजार ६९३ जनाले मतदान गरेका छन्। खसेको मतमध्ये महिला ६४ हजार ३५९, पुरुष ६० हजार ३३२ र अन्य २ जनाले मतदान गरेका छन्।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा ८० हजार ५९ मत खसेको छ। सो क्षेत्रमा महिला ४२ हजार ६७७, पुरुष ३७ हजार ३८० र अन्य २ जनाले मतदान गरेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ४४ हजार ६३४ मत खसेको छ। उक्त क्षेत्रमा महिला २१ हजार ६८२ र पुरुष २२ हजार ९५२ जनाले मतदान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहानदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो। उहाँका अनुसार कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल वितरण केन्द्रमा सामान्य प्राविधिक त्रुटिका कारण सानो घटना बाहेक जिल्लामा कुनै पनि ठूलो अवाञ्छित घटना भएको छैन। सुरक्षा व्यवस्था प्रभावकारी रूपमा परिचालन गरिएको पनि उहाँले बताउनुभयो।
जिल्लाका सबै १०३ मतदान स्थलमा रहेका २७५ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्र (कारागार र कर्मचारी मिलन केन्द्र) गरी कुल २७७ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार सबै मतपेटिका मतगणना स्थलमा ल्याउन केही समय लाग्नेछ। यद्यपि सङ्कलन गरिएका मतपेटिका सुरक्षित रूपमा तोकिएको मतगणना स्थलमा ल्याइएपछि मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश कुमार उपाध्यायले बताउनुभयो।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना स्थल सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा तोकिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ को मतगणना स्थल कटारी नगरपालिकास्थित उदयश्री क्याम्पस कटारीमा तोकिएको छ।








प्रतिक्रिया राख्नुहोस्