इलाममा निर्वाचनको तयारी पुरा, निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह
इलाम। भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि इलाममा सम्पूर्ण तयारी पूरा भएको छ।

भर्खरै सर्वदलीय बैठक सम्पन्न गरी सुरक्षित , निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
निर्वाचन शान्तिपूर्ण रूपमा गराउन सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न इलामका मतदातालाई आग्रह गर्नुभएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना र निर्वाचन प्रहरी खटिएकोले मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रजिअ ढकालले बताउनुभयो । मतदान र, मतपेटिका र मतगणना स्थलको सुरक्षाको प्रबन्ध भइसकेको भन्दै उहाँले सबै मतदाता मतदान गर्न आउन सक्ने वातावरण तयार गरिएको बताउनुभयो ।

मतपेटिका तथा मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो मतदानस्थलमा पुगेर मतदान स्थल तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले बताउनुभयो । सबै मतदान अधिकृतले सर्वदलीय बैठक राखी निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको बताउनुभयो । मतगणनाको लागि स्थल तथा मतपेटिका भण्डारण स्थलको तयारी समेत भइसकेको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिनुभएको छ ।

इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् ।
इलाममा १ सय ६ जना कैदीबन्दीले समेत मतदान गर्दैछ्न ।







प्रतिक्रिया राख्नुहोस्