तपाईँ सुन्दै हुनुहुन्छः

रौतहट-४ निर्वाचन: नयाँ अनुहारको चुनौती, पुरानो पकडको परीक्षा

रौतहट। रौतहट क्षेत्र नम्बर ४ आगामी प्रतिनिधि सभा निर्वाचनसँगै पुनः एक पटक चर्चाको केन्द्रमा परेको छ ।

विगत दुई निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजयी हुनुभएका देवप्रसाद तिमल्सिना यस पटक पनि तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ । उहाँले विगतमा आरम्भ गर्नुभएका विकास आयोजना तथा अधुरा काम सम्पन्न गर्न मतदाताले पुनः अवसर दिनुपर्ने बताउँदै आउनुभएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका तिमल्सिनाले आफ्ना अघिल्ला उपलब्धिलाई आधार मानेर ‘ह्याट्रिक’ जितको लक्ष्य लिनुभएको छ । उहाँप्रति पार्टी संगठनको साथसाथै परम्परागत मतदाताको भरोसा रहेको दाबी गरिँदै आएको छ ।

यद्यपि, उहाँको यात्रालाई चुनौती दिन नेकपा एमालेका उम्मेदवार रामजी साह सक्रिय रूपमा चुनावी अभियानमा जुट्नुभएको छ । साहले ठूला दलले सधैँ चन्द्रनिगाहपुर केन्द्रित नेतृत्वलाई प्राथमिकता दिने गरेको उल्लेख गर्दै आफू तल्लो भेगको प्रतिनिधित्व गर्ने उम्मेदवार भएको जिकिर गर्नुभएको छ । उहाँले जनताबाट सकारात्मक साथ पाइरहेको र यस पटक परिवर्तनको पक्षमा मत आउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच, आम जनता पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका चर्चित सञ्चारकर्मी ऋषि धमला को प्रवेशले निर्वाचनलाई थप रोचक बनाएको छ । धमलाको उम्मेदवारीले परम्परागत मतधारामा प्रभाव पार्ने आकलन गरिएको छ । उहाँले आफू केवल भोट काट्न नभई स्पष्ट रूपमा जितको लक्ष्यसहित मैदानमा उत्रनुभएको बताउनुभएको छ । स्थानीय स्तरमा उहाँको चर्चित छवि र सक्रिय प्रचारप्रसारले समीकरणमा नयाँ आयाम थपेको चर्चा छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल पनि सक्रिय देखिनुभएको छ । नयाँ राजनीतिक शक्तिको रूपमा स्थापित हुन खोजिरहेको सो पार्टीले यस पटक परम्परागत दलहरूको वर्चस्व तोड्ने लक्ष्य राखेको जनाएको छ । पौडेलले युवा मतदाता तथा परिवर्तन चाहने समूहबिच राम्रो पहुँच बनाइरहनुभएको बताइएको छ ।

यसै गरी, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार दास तत्मा ले पनि युवा नेतृत्वको एजेन्डासहित प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँ सङ्गठनात्मक रूपमा सक्रिय र युवामाझ लोकप्रिय रहेको चर्चा छ ।

गत निर्वाचनको प्रवृत्ति हेर्दा यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबिच हुने गरेको देखिन्छ । यसर्थ, तिमल्सिना र साहबीचको प्रतिस्पर्धालाई परिणाम निर्धारण गर्ने प्रमुख आधारका रूपमा हेरिएको छ । तर यस पटक अन्य दलका उम्मेदवारहरूको सक्रियताले समीकरण जटिल र रोचक बनेको छ ।

स्थानीय मतदाताहरूले अहिले नै स्पष्ट रूपमा कसको पक्षमा परिणाम जाने भन्न कठिन रहेको प्रतिक्रिया दिनुभएको छ । चुनावी सभाहरूमा बढ्दो सहभागिता, चर्किँदो प्रचारप्रसार, सम्भावित गठबन्धन र मतदाताको मनोविज्ञानले वातावरण दिनप्रतिदिन तरङ्गित बन्दै गएको छ । 

रौतहट–४ मा यसपटकको निर्वाचन प्रतिस्पर्धा बहुआयामिक र अप्रत्याशित देखिएको छ । तेस्रो जितका लागि प्रयासरत तिमल्सिना, क्षेत्रीय आधारमा आत्मविश्वासी साह, वैकल्पिक शक्तिका रूपमा देखिनुभएका धमला, पौडेल र दास तत्मा यी सबैको सक्रियताले यस क्षेत्रलाई देशकै चासोको केन्द्र बनाएको छ । अन्तिम परिणाम भने मतपेटिकाले नै निर्धारण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button