तपाईँ सुन्दै हुनुहुन्छः

जनवादी गायक शर्मा सम्मानित

बागलुङ । बागलुङमा स्थापित रत्न श्रेष्ठ पुरस्कार गुठीले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ ।

बागलुङका साहित्यकार तथा गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले आमा स्वर्गीय रत्नकुमारी श्रेष्ठको स्मृतिमा स्थापना गर्नु भएको पुरस्कारबाट यस वर्ष जनवादी गायक तथा कवि शर्मालाई सम्मान गरिएको हो ।

गीत सङ्गीत र साहित्य मार्फत शर्माले नेपाली वाङ्मयमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार २०८२ बाट सम्मान गरिएको छोटाले बताउनुभयो । उहाँलाई स्वर्गीय श्रेष्ठको पुण्य तिथिमा बिहीबार नगद २५ हजार सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको प्रबन्ध समितिका वैकल्पिक सदस्य सचिव हरिप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङ्खानी पाहीमा जन्मनुभएका शर्माले विगत लामो समयदेखि जनवादी गीत सङ्गीतमा योगदान दिँदै आउनुभएको छ । शर्मालाई ७० औ सम्मान समर्पण गरिएको गुठीले जनाएको छ ।

सम्मानपछि बोल्दै शर्माले सम्मानले देश र जनताको मुक्तिका लागि गीत सङ्गीत मार्फत बल पुर्‍याउन थप हौसला प्रदान भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button