तपाईँ सुन्दै हुनुहुन्छः

जानकीमा एचपीभी खोप अभियान आज देखि सुरु, पहिलो दिनमै ४४९ किशोरीले लगाए खोप

बाँके । पाठेघरको मुखको क्यान्सर जस्तो घातक रोग विरुद्ध सुरक्षाको ढाल मानिने एचपीभी खोप अभियान बाँकेको जानकी गाउँपालिकामा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। किशोरीहरूको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन गरिएको अभियानको पहिलो दिनमै ४ सय ४९ जना किशोरीले खोप लगाउँदै उल्लेखनीय सहभागिता जनाएका छन् ।

जानकी गाउँपालिकाले विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका गरी कुल ६ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । पालिकाका खोप फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक टामलाल बेल्बासेका अनुसार समुदायस्तरमा गरिएको पूर्व अन्तरक्रिया र अभिभावक सचेतनाले अभियानलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

उहाँले भन्नुभयो,“एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउँछ। समयमै खोप लगाउनु भनेको किशोरीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।,”

वडा नं। ३ स्थित कन्या आधारभूत विद्यालयमा कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले खोप कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य शाखा तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,“पहिले शुल्क तिरेर लगाउनुपर्ने यो खोप अहिले सरकारद्वारा निःशुल्क उपलब्ध छ। सबै किशोरीले यस अवसरको लाभ लिनुपर्छ ।,”।

सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामलाई प्राथमिकतामा राख्दै देशव्यापी रूपमा एचपीभी खोप अभियान सञ्चालन गरिरहेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार एचपीभी सङ्क्रमण नै पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएकाले किशोरी अवस्थामै खोप लगाउँदा दीर्घकालीन रूपमा मृत्यु दर घटाउन सहयोग पुग्छ।

जिल्लाका आठवटै स्थानीय तहमा गरी ८ हजार ५ सय ८४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। तीमध्ये ६ हजार ५ सय ३१ जना विद्यालयमा अध्ययनरत र २ हजार ५३ जना विद्यालय बाहिर रहेका किशोरी छन् । जानकी गाउँपालिकामा आजदेखि अभियान सुरु भएको छ भने अन्य सात पालिकामा माघ २५ गतेदेखि अभियान सञ्चालन भइरहेको बताउँदै वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार अभियान फागुन ४ गतेसम्म जारी रहनेछ ।

जानकी गाउँपालिकाको ६ वटा विद्यालयमा खोप अभियान सञ्चालन भइरहेको छ। कार्यक्रमको प्रशासन शाखा प्रमुख गोपी चौलागाईं, सामाजिक विकास समितिका संयोजक राम अचल धोबी लगायतले स्थलगत अनुगमन गर्दै अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नु भएको छ । 

स्वास्थ्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको यो अभियानले किशोरीहरूको जीवन सुरक्षित बनाउन मात्र होइन, भविष्यमा पाठेघरको मुखको क्यान्सरमुक्त समाज निर्माण गर्ने दिशामा महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button