बाजुरामा एचपिभी खोप अभियान सुरु, १ हजार ८ सय ६ किशोरीलाई लगाउने लक्ष्य
बाजुरा। बाजुरामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ। मङ्गलवारदेखि सुरु भएको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई खोप लगाउन थालिएको हो।

मङ्गलवार बुढिगंगा नगरपालिका बाट सुरु गरिएको खोप अभियान आज बाँकी रहेको बुढीगंगा र बडिमालिका नगरपालिका तथा जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई खोप लगाइएको छ। बाँकी रहेका चार स्थानीय तहमा पनि भोलिदेखि निरन्तर रूपमा खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। खोप कसैलाई पनि नछुटाइने गरी अभियान अघि बढाइने जनाइएको छ।
स्वास्थ्य कार्यालय बाजुराका खोप कार्यक्रम फोकल पर्सन खडकराज गिरीका अनुसार जिल्लाभर १ हजार ८ सय ६ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ। यस वर्ष कक्षा ६ मा अध्ययनरत १ हजार ७ सय ८१ जना र गत वर्ष छुटेका २५ जना गरी कुल १ हजार ८ सय ६ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार खोप कार्यक्रम फागुन ३ गतेसम्म सञ्चालन हुने छ। जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत सेवा प्रदान गरिनेछ भने नजिकका स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ।
गत वर्ष अभियानका रूपमा सञ्चालन गरिएको एचपिभी खोप कार्यक्रममा जिल्लाभर ७ हजारभन्दा बढी किशोरी सहभागी भएका थिए। किशोरीहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी मानिने भएकाले यस कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्