पिएम कपमा साङ्ग्रिलाको लगातार दोस्रो जित
पोखरा । प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा साङ्ग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा साङ्ग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकाल्न सफल भएको हो ।

लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कमजोर देखियो । १८७ रनको विजयी लक्ष्य पाए पनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाइडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक जोड्न सक्नुभएन । केशवले १० र सुमितले ६ रन जोड्नुभयो ।
साङ्ग्रिलाको लागि भुवन रेग्मीले ५ विकेट लिँदा सञ्जय नेपालले २ तथा जीवन कोइरालाले १ विकेट लिनुभयो ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साङ्ग्रिला २८.१ ओभरमा १८६ रनमा अलआउट हुन पुग्यो । साङ्ग्रिलाको लागि सिब्रिन श्रेष्ठले ७६ रनको योगदान दिनुभयो । राजु खनालले २३ र कुशल नेपालले ३१ रनको योगदान दिनुभयो ।
लेकसाइडका लागि चन्दन राउतले उत्कृष्ट प्रदर्शनी गर्दै सर्वाधिक ७ विकेट लिनुभयो । सन्देश शाहीले २ तथा विकास पाठकले १ विकेट लिनुभयो ।
साङ्ग्रिलाका सिब्रिन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित हुनुभयो । लेकसाइडको यो दोस्रो हार हो । यस अघि लेकसाइड अरण्यज्योति क्रिकेट क्लबसँग १६ रनको हार व्यहोरेको थियो । साङ्ग्रिलाले यस अघि एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनको फराकिलो जित हासिल गरेको थियो । यो सँगै साङ्ग्रिलाको स्पष्ट ४ अंक रहेको छ भने लेकसाइड अङ्कविहीन बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्